विश्वकप क्रिकेटमा छनोट हुन नयाँ रोडम्याप, यस्तो हुनेछ नेपालको विश्वकप यात्रा

 

कार्तिक, ५
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ रोडम्याप तयार पारेको छ। सिंगापुरमा बसेको आईसिसीको बोर्ड बैठकले आगामी सन् २०२३ मा हुने एकदिवसीय पुरुष विश्वकपलाई नयाँ बाटो तयार पारेको हो।

नयाँ रोडम्यापमा विश्वकप खेल्ने टोलीको छनोट प्रक्रिया राखिएको छ। भारतमा हुने सन् २०२३ को विश्वकप विभिन्न १० टोलीले खेल्नेछन्। तर, विश्वकप अघिको २ देखि ३ वर्षको अवधिमा विभिन्न राष्ट्रले ३७२ वटा छनोट खेल खेल्ने आइसिसिले जनाएको छ। यसबाट क्रिकेटमा प्रगति गर्दै आएका तल्लो तहका राष्ट्रलेसमेत माथिल्लोस्तरको राष्ट्रसँग खेल्ने मौका पाउनेछन्।

विश्वकपको नयाँबाटो अनुसार ३ वटा लिगहरू हुनेछन्। जसमध्ये आईसिसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप हुनेछन्। आईसिसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछन्। आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्नेछन्।

सुपर लिगका बाँकी पाँच टिमले सन् २०२३ को विश्वकप छनोट खेल्नेछन्। विश्वकप छनोटमा १० टोलीले खेल्नेछन्। जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन्। यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग-२ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्नेछन्।

आईसिसी लिग-२ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन्। यस लिगमा नेपालसहित युएई, स्कटल्याण्ड र डिभिजन-२ बाट आएका ४ टोलीले खेल्नेछन्। डिभिजन २ मा हङकङ, पपुवा न्यूगिनी, क्यानडा र नामिबिया छन्। जसबाट शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्नेछन्। बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन्। प्ले अफमा ६ टोलीले खेल्नेछन्। थप दुई टोली च्यालेन्ज कपबाट आउनेछन्।

च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्नेछन्। १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन्। दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन्।

यस्तो हुनेछ नेपालको विश्वकप यात्रा
भारतमा सन् २०२३ मा हुने पुरूष एक दिवसीय विश्वकप खेल्न नेपालले दुई चरण पार गर्नुपर्ने हुन्छ। आईसीसीले तयार पारेको पछिल्लो रोडम्याप अनुसार नेपालले सन् २०१९को जुलाईदेखि २०२१ सम्म आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नुपर्नेछ।

यो समूहमा नेपालसँगै बलियो राष्ट्र स्टकल्यान्ड र युएई छन्। त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई बाट छनोट भएर आएका ४ राष्ट्र हुनेछन्।

स्कटल्यान्ड र युएईजस्ता बलिया राष्ट्रसँगै डिभिजन टु बाट आउने हङकङ, पपुवा न्यूगिनी, क्यानडा र नामिबिया जस्ता टिमले नेपाललाई राम्रै चुनौती दिनेछन्।

यो लिगबाट नेपाल शीर्ष तीन भित्र पर्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ। विश्वकप छनोटमा सुपर लिग खेल्ने १३ मध्ये ८ टिम छानिनेछन् भने पुछारका ५ टोलीले छनोट खेल्नुपर्ने हुन्छ।

सुपर लिगमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेष्टइन्डिज र जिम्बाम्बे भिड्नेछन्। यीनै मध्ये शीर्ष ८ टोली सन् २०२२ मा हुने विश्वकपमा छानिनेछन्। बाँकी ५ टोलीले लिगबाट आएका ५ टोलीसँग छनोट खेल्नेछन्। यसबाट शीर्ष दुई टोलीले विश्वकप खेल्ने मौका पाउनेछन्।

तर, लिगको शीर्ष ३ भित्र नेपाल पर्न नसकेमा विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफ खेल्ने मौका पाउनेछ। प्ले अफमा लिगमा पुछारका ४ टोलीसँगै च्यालेन्ज कप लिग ए र बी बाट छानिएर आएका ६ टोलीसँग खेल्नुपर्नेछ। यसबाट शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन्।

नेपालले विश्वकप छनोटमा स्थान बनाउन सके माथिल्लो स्तरका ५ राष्ट्रसहित अन्य ४ राष्ट्रसँग कडा प्रतिस्पर्धा गर्नेछ।

 

 

 

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *