अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै : न्यूनतम तलब र सामाजिक सुरक्षाको ग्यारेन्टी अझै पुरा भएन

बैशाख १८, २०७६ बुधबार
आज बुधबार १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन हरेक श्रमिकको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

विभिन्न कार्यक्रमका साथ दिवस मनाइरहँदा श्रमिकले न्यूनतम तलब र सामाजिक सुरक्षा पाउन सकेका छैनन् । सरकारले गएको साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । यस्तै दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टा ६९ रुपैयाँ तोकिएको छ । चिया बगानमा काम गर्ने श्रमिकको भने मासिक तलब १० हजार ७ सय ८१, दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ निर्धारण गरिएको छ । तर धेरै श्रमिकले न्यूनतम तलब पाउन सकेका छैनन् ।

सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजना ल्याएको छ । सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् ।

तर श्रमिकलाई न्यूनतम तलब तथा सेवा सुविधा नदिएका धेरै उद्योग प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा दर्ता हुन पनि आलटाल गरिरहेका छन् । सरकारले गएको मंसिर ६ गते कोषमा सूचीकृत हुने आह्वान गरे पनि अहिलेसम्म २५ सय रोजगारदाता मात्र कोषमा सूचीकृत भएका छन् । उनीहरुले ९ सय ८५ श्रमिकको सूचीकरण गरेका छन् । योजना आयोगले हालै सार्वजनिक गरेको श्रम सर्वेक्षणअनुसार श्रम बजारमा ७० लाख ८६ हजार श्रमिक छन् । यसमध्ये २६ लाख ४० हजार औपचारिक क्षेत्रमा र ४४ लाख ४६ हजार अनौपचारिक क्षेत्रमा संलग्न छन् ।

सरकारले आउँदो आर्थिक वर्षदेखि सामाजिक सुरक्षा योजना लागू गर्ने प्रतिबद्धता जनाएको छ ।

बारेमा Nabin Nepal

Check Also

राष्ट्रपतिद्वारा संसद अधिवेशन वैशाख १६ गते आह्वान

२०७६ बैशाख ८,आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे बर्खे अधिवेशन आह्वान गर्नु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *