मंसिर १५, २०७६
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी आफूले लिने बताएका छन् ।
१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उक्त कुरा बताउदै माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको उल्लेख गरेका छन् ।
तत्कालिन माओवादी पार्टी र जनयुद्धको नेतृत्वको हैसियतले जनयुद्धकाक्रममा भएका सबै घटनाको जिम्मेवारी लेने भन्दै ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा जे भयो त्यो सबै बिर्सौं’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको अध्यक्ष दाहालले स्मरण गराए।
आफूमाथि पनि धेरै मुद्दा रहेको र त्यसमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको दाहालले बताए। सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने र त्यसमा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बनेको पनि दाहालले बताए।