चौरजहारी घटना: मृतक सबैको टाउकोमा चोट

0
144

२०७७, जेठ १७ गते //
प्रेम विवाहका लागि केटी लिन आउँदा चौरजहारीमा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये पाँच जनाको शव फेला परेको छ। भेरी नदीमा फेला परेको पाँचै जना मृतकको टाउकोमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ।

नवराज विक प्रेम विवाह गर्न केटी लैजानका लागि आफन्तलाई साथमा ल्याएर जेठ १० गते चौरजहारी आएका थिए। केटी लैजान नपाउँदै स्थानीयले लखेटेपछि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्ताको खोजी र उद्धारमा खटिएका प्रहरीले फेला परेका सबै शवको टाउकोमा चोट रहेको बताएका छन्।

जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार तथा सञ्जु विक र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको छ। मृतक सबै शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताइएको छ। भेरी नदीमा हामफाल्ने भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।

अहिलेसम्म फेला परेका सबै शवमा टाउकोमा ढुंगा प्रहार गरेको चोट लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए। तर के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पुष्टि हुने उनले बताए।

पीडित पक्षले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। पीडितहरूको जाहेरीका आधारमा वडाध्यक्ष मल्लसहित, प्रेम विवाह गर्ने तयारीमा रहेकी सुष्मा, उनका बुबा–आमालगायत १८ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सरकारद्वारा गठित छानबिन समितिले घटनास्थल तथा जाजरकोट पीडित परिवारको घर पुगेर काम सुरु गरेको छ। सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here