कोरोनाबाट दैलेखको दुल्लु क्‍वारेन्टाइनमा एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

0
483

२०७७, जेठ १७ गते // खगेन्द्र खरेल
दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा सात पुगेको छ ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । दुल्लु नगरपालिकाले वडा नं. ७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिइनमा उनीसँगैै ७९ जना थिए ।

कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here