लकडाउन खुलेको ३ सातापछि कक्षा १० को एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

0
371

२०७७, वैशाख १८ गते//
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।

देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुसँग उनले यो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय कार्यदल र मन्त्रिपरिषद्मा लगेर थप छलफल गर्ने समेत बताएका छन् ।

स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर परीक्षा गराउन उपकेन्द्रहरु समेत थप्नुपर्ने कार्यदलले सुझाव दिएको छ । कक्षा ११ को परीक्षा भने अवस्था सहज भइसकेपछि गरे पनि हुने कार्यदलले जनाएको छ । ११ कक्षाको परीक्षा नभए पनि विद्यार्थी कक्षा १२ मा पढ्न पाउने हुँदा परीक्षा गर्न हतार गर्न नहुने बताइएको छ ।

एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here